Sunday, August 22, 2010

article 1: नेताहरु राजाको पछि विद्यार्थीहरु गणतन्त्रको पछि !

नेताहरु राजाको पछि विद्यार्थीहरु गणतन्त्रको पछि !
                                                                  -राजेन्द्र राई

        २०५९ असोज १८ र २०६१ माघ १९ को शाही कुपछि नेताहरुले भने अनुसार आन्दोलन अगाडि बढेको भए अहिले पनि ज्ञानेन्द्र शाह महाराजकै रुपमा नारायणहिटी दरबारमा मुस्काइरहेका हुन्थे प्रचण्ड र माओवादीहरु जङ्गलमा हुन्थे नेपाली काँग्रेस र एमाले जस्ता राजनीतिक दलका नेता-कार्यकर्ताहरु या जेलमा हुन्थे या राजाको टाङमुनि छिरेर सरकारमा पुगेका हुन्थे । तर आन्दोलन नेताहरुले भने जस्तो गरी अगाडि बढेन आन्दोलनलाई विद्यार्थीहरुले अर्कै दिशातर्फ मोडिदिए त्यसैको परिणाम स्वरुपः अहिले नारायणहिटी दरवारमा राजा छैन सिङ्गै मुलुकमा शाही राजा छैन मुलुकमा गणतन्त्र आएको छ प्रचण्ड र माओवादी शान्तिपूर्ण राजनीतिमा फर्किएको मात्र होइन ऐतिहासिक संविधानसभा व्यवस्थापिका संसद को निर्वाचन मार्फत माओवादीले आफूलाई देशको सर्वाधिक पार्टीको रुपमा स्थापित गर्न र ९ महीनासम्म आफ्नो नेतृत्वमा सरकार चलाउन समेत सफल भइसकेको छ नेपाली काँग्रेस र एमाले जस्ता राजनीतिक दलका नेता-कार्यकर्ताहरु जेल बाहिर छन् र शान्तिपूर्ण ढङ्गले राजनीतिक गतिविधिमा सरिक बनिरहेका छन् । इतिहासको यस्तो वर्णन/ब्याख्या अहिले धेरैका लागि पाच्य नहोला त्यसमा पनि ठूला दलका नेताहरुका लागि त झनै आपत्तिजनक नै होला तर सत्य यही हो जसलाई पचाउन र स्वीकार गर्न नसकिएला तर परिवर्तन गर्न र मेट्न सकिँदैन । त्यो सत्यलाई अथवा राजतन्त्रको अन्त गर्न र गणतन्त्रको स्थापना गर्न विद्यार्थीहरुले निर्वाह गरेको भूमिकालाई संक्षिप्तमा निम्न ढङ्गले चर्चा गर्न र प्रष्ट पार्न सकिन्छ ।

१. गणतान्त्रिक विचारको उठानः 

           सिङ्गो इतिहासको कुरा गर्ने हो भने त नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको विचार विभिन्न राजनीतिक शक्तिहरुले त्यसमध्ये पनि नेपालका कम्युनिष्ट शक्तिहरुले दशकौँ अगाडिदेखि बोक्दै आएका हुन् तर ती राजनीतिक शक्तिहरुले त्यस्तो विचारलाई मूलतः रणनीतिक/दीर्घकालीन लक्ष्यका रुपमा अघि सार्दै आएका थिए तात्कालीक/कार्यनीतिक लक्ष्यको रुपमा होइन तर २०५९ असोज १९ को शाही कुपछि तात्कालीक/कार्यनीतिक लक्ष्यकै रुपमा राजतन्त्रको अन्त्य गर्ने र गणतन्त्र स्थापना गर्ने विचारलाई विद्यार्थी समुदायले नै सबभन्दा पहिला जवर्जस्त ढङ्गले उठान गर्ने र अगाडि बढाउने काम गरे । राजनीतिक दलहरु त धेरै पछाडि गणतन्त्रको पक्षमा आइपुगेका थिए त्यो पनि घिसारिएर अथवा जन दबाबको कारणले अथवा गणतन्त्रको पक्षमा देखिएको जनमाहोलको कारणले । साँच्चै भन्ने हो भने विद्यार्थीहरु गणतन्त्रको अभियानमा निकै अगाडि बढिसक्दा समेत राजनीतिक दलहरु वार्ताबाटै समस्याको समाधान खोज्नुपर्छ भनेर राजाकोपछि लागिरहेका थिए दलका नेताहरुले दरवारतर्फ आशाको नजरले हेरिरहेका थिए शान्तिपूर्ण राजनीतिमा लागिरहेका नेपाली काँग्रेस र एमाले जस्ता दलहरुको त कुरै छाडौँ सशस्त्र जनयुद्धमा लागिरहेका माओवादी अथवा त्यसका नेता प्रचण्ड समेत राजासँग सीधै वार्ता गर्ने भनेर त्यसको तारतम्य मिलाउन लागिरहेका थिए । 

           विद्यार्थी समुदाय वा संगठनहरुले गणतन्त्रको विचार अगाडि नसारेको भए र त्यस विचारको पक्षमा व्यापक माहोल सिर्जना नगरेको भए राजनीतिक दल अथवा अन्य लोकतान्त्रिक शक्तिबाट पछिल्ला दिनहरुमा पनि त्यस्तो विचार नसारिने संभावना बढी नै थियो ।

         माथि भनिएको कुरालाई पुष्टि गर्न आवश्यक पर् यो भने थुप्रै तथ्य प्रमाण घटनाक्रम र तर्कहरु गर्न सकिन्छ तर यो कुरा आम रुपमा स्थापित र सर्वस्वीकृत भइसकेको हुनाले यहाँ त्यसो गरिरहनु जरुरी ठानिएको छैन ।

२. गणतान्त्रिक आन्दोलनको आरम्भ र निरन्तरताः

          २०५९ असोज १८ को शाही प्रतिगमनपछि विद्यार्थी समुदायले राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाका लागि आन्दोलनलाई अगाडि बढाउनुपर्ने विचारको उठान गरेको वा अघि सारेको मात्र होइन सबभन्दा पहिला उनीहरु आफैले आन्दोलनको आरम्भ गर्ने र त्यसलाई अन्तिम समयसम्म निरन्तरता दिने काम गरेका थिए । 
        
        साँच्चै भन्ने हो भने विद्यार्थी समुदायले जुनबेला राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको आन्दोलन अगाडि बढाउन शुरु गरेका थिए त्यतिबेलासम्म राजनीतिक दल लगायत अन्य लोकतान्त्रिक-आन्दोलनकारी शक्तिहरुले प्रतिगमन विरोधी आन्दोलनको समेत शुरुवात गरेका थिएनन् । त्यतिमात्र होइन पछिल्ला दिनहरुमा पनि अझ भन्ने हो भने आन्दोलनको अन्तिम समयसम्म पनि राजनीतिक दलहरुले राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाका लागि भनेर संयुक्त रुपमा एउटै पनि आन्दोलनका कार्यक्रम सम्पन्न गरेनन् ।

        विद्यार्थी समुदायले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका मुद्धामा मात्र केन्द्रित भएर अनेकौँ प्रकृतिका कार्यक्रम सम्पन्न गरेका थिए तीमध्ये मुख्य निम्न छन्ः

         राजदरवारतफै चोर औला ठड्याई आधा घण्टा राजतन्त्र विरोधी नारा लगाउँदै खबरदारी गर्ने राजतन्त्रको सान्दर्भिकता छ कि छैन भन्ने विषयमा सार्वजनिक बहस विद्यालयदेखि विश्वविद्यालयसम्म र देशका विभिन्न महत्वपूर्ण शहरहरुमा साचालन गर्ने सडकमा सशक्त ढङ्गले राजतन्त्र विरोधी नाराहरु लगाउने गणतन्त्र कि सकि्रय राजतन्त्र वा संवैधानिक राजतन्त्र भन्ने विषयमा विद्यालयदेखि विश्वविद्यालयसम्म जनमत संग्रह सम्पन्न गर्ने जसमा लगभग ९५ प्रतिशत मत गणतन्त्रको पक्षमा विद्यार्थीहरुले प्रदान गरेका थिए पटक पटक श्रीपेच सहित राजाको पुत्ला बनाई जलाउने क्याम्पसहरु र क्याम्पस मार्गहरुलाई गणतन्त्र क्षेत्र घोषणा गर्ने क्याम्पसभित्र र विभिन्न कार्यालयमा राखिएका राजपरिवारको फोटाहरु हटाउने-नष्ट गर्ने राजपरिवारको फोटाहरु जलाउने राजाको व्यंग चित्र बनाई व्यापक रुपमा टाँस्ने राजाले आफ्नो हातमा कार्यकारिणी अधिकार लिए पश्चात् राज्यको कोषबाट राजपरिवारको बार्षिक खर्चको रकम ११ करोडबाट बढाई करिब ६३ करोड बनाएको विरोध र व्यङ्ग्य स्वरुप राजदरवारको लागि चन्दा भनेर सडक-सडकमा चन्दा संकलन गर्ने र राजदरवारमा पठाउने राजा र रापरिवारका सदस्यहरुका सम्पति सार्वजनिक गरिनुपर्छ भन्ने दबाब सिर्जना गर्न देशभरका शैक्षिक संस्था लगायत प्रमुख शहरहरुमा हस्ताक्षर संकलन गर्ने राज्यको ढिकुटीबाट साह्रै ठूलो मात्रामा पैसा खर्च गरी राजाले देशका विभिन्न भागमा अभिनन्दन लिँदै हिँडेको कुराको विरोध र व्यङ्ग्य गर्न साँढे गधा र कुकूरलाई अभिनन्दन गर्ने राजा र राजपरिवारले गरेका काला-कर्तुतहरुका व्यापक प्रचार-प्रसार गर्ने निरङ्कुश पाचायती व्यवस्थाका प्रवर्तक स्वर्गीय राजा महेन्द्रको शालिक ढाल्ने उनको शालिकमा कालो मोसो र जुत्ताको माला लगाउने राजा ज्ञानेन्द्रको पुत्ला बनाई त्यसलाई सार्वजनिक रुपमा जुत्ताले हान्ने गधालाई राजाको प्रतिक बनाई शहर परिक्रमा गराउने फुटबललाई राजाको टाउकोको प्रतिक बनाई खेल्ने आदि ।

         पछिल्लो  कुरा गर्ने हो भने सविधानसभाको पहिलो बैठकबाटै गणतन्त्रको घोषणा गराउन राजनीतिक दलहरुलाई दबाब दिने संविधानसभाको पहिलो बैठक बसिरहेको बेला दबाब जुलुश निकाल्ने बैठक स्थल घेर्ने संविधासभाको पहिलो बैठकबाट गणतन्त्रको घोषणा भइसकेपछि नारायणहिटी राजदरवारमा नेपालको राष्ट्रिय झण्डा फहराउन÷राख्न दबाब दिने जस्ता काम विद्यार्थी समुदायको तर्फबाट गरिएको थियो ।
३. गणतन्त्रको पक्षमा जनमत र माहोल निर्माण गर्ने कामः 

         विद्यार्थी समुदायले अनेकौँ प्रकृतिका प्रचारात्मक र आन्दोलनका कार्यक्रम मार्फत राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको विचार र नारालाई व्यापक जनताका वीचमा पुर् याउने त्यस्ता विचार र नारातर्फ जनताको ध्यान आकर्षित गर्ने जनतालाई त्यसको पक्षमा तान्ने/तयार गर्ने र व्यापक माहोल निर्माण गर्ने काममा महत्वपूर्ण भूमिका खेलेका थिए । आन्दोलनका पछिल्ला दिनहरुमा त यस्तो माहोल वा जनमत निर्माण भएको थियो कि कुनै पनि आन्दोलनकारी जनता वा व्यक्ति राजतन्त्रको अन्त्य र गणतन्त्रभन्दा तलको कुरा सुन्न मान्दै मान्दैनथ्यो । त्यस्तो माहोल र जनमत निर्माण गर्ने काममा निसन्देह विद्यार्थी समुदायको भूमिका अग्रणी र अतुलनीय रहेको थियो ।

४. सम्पूर्ण आन्दोलनकारी शक्तिलाई गणतन्त्रका लागि तयार गर्ने कामः

       राजनीति दलहरु नागरिक समाज र अन्य विभिन्न संघ-संगठनहरुलाई राजतन्त्रको अन्त्य र गणतन्त्रको पक्षमा तयार गर्न वा ल्याउन विद्यार्थी समुदायको महत्वपूर्ण भूमिका छ । यतिखेर यो कुरा धेरैले अस्वीकार गर्न सक्छन् र भन्न सक्छन् गणतन्त्रका पक्षमा हामी आफै तयार भएको हो कहाँ अरुको कारणले तयार भएको हो र  तर यथार्थलाई अलिकति पनि नलुकाई भन्ने हो भने २०५९ असोज १८ को शाही कुपछिका आरम्भिक दिनहरुमा विद्यार्थी समुदायले राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको कुरा गर्दा त्यसलाई सुन्न स्वीकार्न र पचाउन सक्ने नेताहरु नागरिक समाजका अगुवाहरु राजनीतिक विश्लेषक विद्वान-बुद्धिजिवीहरु साह्रै कम थिए । तीमध्ये धेरैले शुरुका दिनहरुमा विद्यार्थीहरु समुदायले राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको विचार र नारालाई अघि सार्दा उरन्ठेउलो आलोकाँचो र उग्र काम भनेका थिए ती दिनहरुमा ती सबैले विद्यार्थीहरुलाई राजतन्त्रको विरुद्ध र गणतन्त्रको पक्षमा अघि बढ्ने कुरामा निरुत्साहित गर्ने कोशिश गरेका थिए कतिपय नेताहरुले त सडकमा वा आन्दोलनको मैदानमै समेत राजतन्त्रको विरुद्ध र गणतन्त्रको पक्षमा नारा लगाउने विद्यार्थीहरुको मुख थुन्ने प्रयत्न समेत गरेका थिए राजनीतिक दलहरुको संयुक्त बैठकमा र कतिपय राजनीतिक दलको आन्तरिक बैठकमा समेत विद्यार्थीहरुलाई त्यस्तो नारा लगााउने काममा नियन्त्रण गर्नुपर्ने मात्र होइन कार्वाही नै गर्नुपर्ने कुरा समेत उठ्ने गरेको थियो । यी सबै कुराहरुबाट के निष्कर्ष निकाल्न सकिन्छ भने शुरुका दिनहरुमा अधिकाँश नेताहरु नागरिक समाजका अगुवाहरु अन्य विभिन्न संघ-संगठनहरु राजनीतिक विश्लेषक विद्वान-बुद्धिजिवीहरु राजतन्त्रको अन्त्य र गणतन्त्रको पक्षमा तयार थिएनन् । विद्यार्थी समुदायको लगातारको प्रयत्न र दबाबको कारणले र त्योभन्दा पनि विद्यार्थी समुदायको प्रयत्न र आन्दोलनको परिणाम स्वरुप गणतन्त्रको पक्षमा निर्माण भएको माहोल जनमत र त्यसको प्रभाव र दबाबको कारणले राजनीतिक दल लगायत सम्पूर्ण लोकतान्त्रिक शक्तिहरुलाई राजतन्त्रको अन्त्य र गणतन्त्रको पक्षमा तयार बनाउँदै लगेको वा तयार बनाएको थियो ।

५. संयुक्त जनआन्दोलनमा सशक्त भूमिकाः 

          राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको आरम्भ र आधार संयुक्त जनआन्दोलन-०६२/०६३ को सफलता हो । त्यस जनआन्दोलनलाई सफल पार्ने काममा पनि विद्यार्थी समुदायको भूमिका अति उल्लेख्य छ । विद्यार्थी समुदायले राजनीतिक दलहरुले घोषणा गरेका जनआन्दोलनका कार्यक्रमहरुलाई सफल र सशक्त पार्ने काम मात्र गरेको होइन राजनीतिक दलहरुले जनआन्दोलन शुरु गर्नुभन्दा अगाडिदेखिसशक्त ढङ्गले आन्दोलन शुरु र साचालन गरेर राजनीतिक दलले शुरु गरेको जनआन्दोलनको जग निर्माण गर्ने राजनीतिक दलहरुले जनआन्दोलनलाई निरन्तरता नदिइरहेको बेला आफ्नो तर्फबाट कार्यक्रम दिएर आन्दोलनलाई जोगाई राख्ने राजनीतिक दलहरुले घोषणा गरेको कार्यक्रमहरुलाई सशक्त बनाउने दमनको प्रतिकार सशक्त ढङ्गले गर्ने जस्ता काम गरेर जनआन्दोलनलाई सफल पार्ने काममा विद्यार्थी समुदायले साह्रै महत्वपूर्ण्र भूमिका निर्वाह गरेका थिए । साँच्चै भन्ने हो भने विद्यार्थीहरुको योगदानकौ कारण त्यो जनआन्दोलन त्यति सश्ाक्त र छिटै सफल हुन संभव भएको हो भन्दा पनि फरक पर्दैन । २०५९ असोज १८ को शाही कुपछिको पहिलो सहिद बुटवल बहुमुखी क्याम्पस बुटवलका विद्यार्थी नेता देवीलाल पौडेल हुनुबाट पनि जनआन्दोलनको जग निर्माणमा विद्यार्थी समुदायको भूमिका रहेको कुरा सजजै पुष्टि हुन्छ । 

६.निर्णायक क्षणमा दबाब:
        संविधानसभाको चुनावको मिति तोक्ंने चुनावलाई सम्पन्न गराउने संविधानसभाको पहिलो बैठकबाट गणतन्त्रको घोणणा गराउने दरवारमा राष्ट्रिय झण्डा गाड्ने भूतपूर्व बनेका राजा र उसका परिवारलाई नारायणहिटी दरवारबाट हटाउने जस्ता निर्णायक कामहरु गराउन विद्यार्थी समुदायले आवश्यक समयमा सशक्त ढङ्गले दबाब दिने काम गरेका थिए । 


अन्त्यमाः

        सत्य हो नेपालबाट कुनै न कुनै दिन राजतन्त्र समाप्त हुनु अनिवार्य थियो तर यो पनि उत्तिकै सत्य होला राजनीतिक दलहरुले भने/सोचे जसरी मात्र आन्दोलन अगाडि बढेको भए अथवा विद्यार्थीहरुले आन्दोलनलाई
अर्कैतिर नमोडिदिएको भए २०६२/६३ कै आन्दोलनबाट चाहिँ राजतन्त्र समाप्त हुँदैन थियो कि  ?

धन्यवाद ।


No comments:

Post a Comment